साउथ अष्ट्रेलिया

साउथ अष्ट्रेलियाली राज्य चुनावमा कसरी मतदान गर्ने

तपाईंलाई दुईवटा मतपत्रहरू दिइनेछ:

  • सानो मतपत्र विधानसभा (तल्लो सदन) को लागि हो
  • ठूलो मतपत्र विधान परिषद (माथिल्लो सदन) को लागि हो

विधानसभा

तपाईंले आफू बसेको निर्वाचन क्षेत्रको मतदाताको प्रतिनिधित्व गर्ने सदस्यलाई मतदान गर्नुहुनेछ। साउथ अष्ट्रेलियामा ४७ मध्ये एक।

निर्वाचनहरूको निर्णय पूर्ण अधिमान्य मतदान भनिने विधिद्वारा गरिन्छ। मतदाताहरूले सबै उम्मेदवारहरूलाई उनीहरूको सबैभन्दा धेरै मनपर्ने (पहिलो रोजाइ) बाट उनीहरूको सबैभन्दा थोरै  मनपर्नेमा वर्गीकरण गर्छन्। निर्वाचित हुनका लागि, अन्य सबै उम्मेदवारहरू हटाइएपछि बहुमत प्राप्त मतदाताहरूले उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ।

पूर्ण अधिमान्य मतदान प्रणालीको अर्थ हो कि यदि तपाईंले आफ्नो पहिलो प्राथमिकताको रूपमा कम लोकप्रिय उम्मेदवार वा सानो पार्टीलाई मतदान गर्नुभयो, र उनीहरूले जितेनन् भने, तपाईंको भोट अझै पनि तपाईंको सदस्य चयनमा गणना गरिनेछ।

सानो तल्लो सदन मतपत्रमा सही रूपमा मतदान गर्न, तपाईंले आफ्नो मनपर्ने क्रममा प्रत्येक बाकसमा अंक दिन आवश्यक छ।

१. तपाईंको पहिलो रोजाइको उम्मेदवारको छेउमा रहेको बाकसमा अंक १ लेख्नुहोस्।

२. तपाईंको दोस्रो रोजाइको उम्मेदवारको छेउमा रहेको बाकसमा अंक २ लेख्नुहोस्।

३. प्रत्येक बाकसमा अंक नभएसम्म तपाईंले ३, ४, ५ र यस्तै अन्य अंकहरू लेख्न जारी राख्न सक्नुहुन्छ।

विधान परिषद

निर्वाचनलाई समानुपातिक प्रतिनिधित्व नामक विधिद्वारा  निर्णय गरिन्छ। तपाईंले साउथ अष्ट्रेलियाको सम्पूर्ण राज्यबाट २२ सदस्यहरूका लागि मतदान गर्नुहुनेछ।

निर्वाचित हुनका लागि उम्मेदवारले निश्चित मात्रामा मत प्राप्त गर्नुपर्छ, यो अनुपातलाई कोटा भनिन्छ।

यदि कुनै उम्मेदवारले कोटा वा सोभन्दा बढी पाएमा उनीहरू निर्वाचित हुनेछन्। यदि उनीहरूले यो कोटा पहिलो प्राथमिकता भोटमा मात्र पूरा गरेनन् भने, उनीहरूले कम प्रथम प्राथमिकता मत भएका उम्मेदवारहरूबाट वितरण गरिएको प्राथमिकता मतबाट कोटा प्राप्त गर्न सक्छन्। यो प्रक्रिया सबै रिक्त पदहरू भरि नभएसम्म जारी रहन्छ।

तपाईंले रेखा भन्दा माथि वा रेखा भन्दा मुनि मतदान गर्न सक्नुहुन्छ तर दुवैमा गर्न सक्नुहुँदैन।

  • यदि तपाईं रेखा भन्दा माथि मतदान गर्न रोज्नुहुन्छ भने:
    • आफ्नो मनपर्ने समूह वा दलको छेउमा रहेको बाकसमा अंक १ लेख्नुहोस्।
    • यदि चाहनुहुन्छ भने, तपाईंले आफ्नो मनपर्ने दल वा उम्मेदवारहरूको समूहको दोस्रो छनोटको छेउमा रहेको बाकसमा अंक २ लेख्न सक्नुहुन्छ, र ती सबैलाई अंक दिन आवश्यक छैन।
    • तपाईंले अंक १ दिएर बाँकी मतपत्र खाली छोड्न सक्नुहुन्छ।
    • रेखा भन्दा मुनि कुनै पनि अंक नलेख्नुहोस्।
    • यदि तपाईंले यसरी मतदान गर्न छनौट गर्नुभयो भने तपाईंको मत तपाईंले रोजेको समूहभित्रका उम्मेदवारहरूलाई जानेछ।
  • यदि तपाईं रेखा भन्दा मुनि मतदान गर्न रोज्नुहुन्छ भने:
    • तपाईंको पहिलो रोजाइको उम्मेदवारको छेउमा रहेको बाकसमा अंक १ लेख्नुहोस्।
    • तपाईंको दोस्रो रोजाइको उम्मेदवारको छेउमा रहेको बाकसमा नम्बर २ लेख्नुहोस्।
    • तपाईंले कम्तिमा १२ बाकसहरू अंक नभरून्जेल अंकहरू ३, ४, ५ र यस्तै लेख्न जारी राख्नुहोस्।
    • तपाईंले १२ भन्दा बढी उम्मेदवारहरूलाई अंक दिन सक्नुहुन्छ तर तपाईंको मत गणना गर्नको लागि केवल १२ उम्मेदवारहरूलाई अंक दिए पुग्छ।
    • रेखा भन्दा माथि कुनै पनि अंकहरू नलेख्नुहोस्।
    • यदि तपाईं यस तरिकाले मतदान गर्न रोज्नुहुन्छ भने तपाईं सीधै उम्मेदवारहरूको क्रम निर्णय गर्नुहुन्छ।

अनौपचारिक मतदानहरू

सही तरिकाले नभरिएको मतपत्रलाई अनौपचारिक मतदान भनिन्छ। अनौपचारिक मतहरू निर्वाचन परिणामहरूमा गणना गर्न सकिँदैन। मतपत्रलाई अनौपचारिक मान्न सकिन्छ जब कसैले:

  • बाकसहरूमा सहि, गलत चिन्ह वा अन्य कुनै प्रतीक राख्छन्
  • पर्याप्त बाकसहरूमा अंक भर्दैनन्
  • अंकहरू छुटाउँछन् वा दोहोर्‍याउँछन्
  • मतपत्र खाली छोड्छन्।

गल्ती गर्दा

तपाईंको मतपत्रमा गल्ती भयो भने पनि ठिकै छ। तपाईं त्यसमा गलत चिन्ह लगाउन सक्नुहुन्छ र त्यसैको छेउमा सही अंक राख्न सक्नुहुन्छ।

यदि तपाईं the South Australian Electoral Commission ले तपाईंले सच्चाउनु भएका कुराहरू बुझ्न सक्षम हुनेछैन भन्नेबारे चिन्तित हुनुहुन्छ भने, तपाईं आफ्नो मतपत्र निर्वाचन कर्मचारीलाई फिर्ता गर्न सक्नुहुन्छ र नयाँ माग्न सक्नुहुन्छ।

यदि तपाईंले आफ्नो मतपत्र बिगार्नु वा च्यात्नु भयो भने, तपाईंले निर्वाचन कर्मचारीलाई फिर्ता दिन सक्नुहुन्छ र नयाँ माग्न सक्नुहुन्छ।

तपाईंले आफ्नो मतपत्र भर्न मद्दत माग्न पनि सक्नुहुन्छ।

तपाईंको मत तपाईंको मात्र रोजाई हो

यो जान्न महत्त्वपूर्ण छ कि कसलाई मतदान गर्ने भनेर तपाईंले मात्र निर्णय गर्न सक्नुहुन्छ। अन्य व्यक्तिहरूले कसलाई मतदान गर्ने भनेर सुझाव दिन सक्छन् तर उनीहरूले चाहे अनुसार मतदान गर्न दबाब दिन सक्दैनन्। तपाईंले मतदान गर्नु अघि तपाईंको नाम तालिकामा जाँच गरिने भएतापनि तपाईंले मतदान  गरेपछि तपाईंको मत बेनामी र गोप्य हुन्छ।

यदि तपाईंले जसलाई मतदान गर्नुभयो भन्ने कुरा अरू मानिसहरूलाई भन्न चाहनुहुन्छ भने यो तपाईंको मर्जी हो। उनीहरूलाई बताउन तपाईंलाई कसैले जबरजस्ती गर्न सक्दैनन्, सरकारी अधिकारीहरूले पनि सक्दैनन्। यदि तपाईं असुरक्षित वा दबाब महसुस गर्नुहुन्छ भने, तपाईंले कसलाई मतदान गर्नुभयो भन्नेबारे झुट बोल्नु गैरकानूनी हुँदैन र तपाईंको भोट गोप्य भएकोले कसैले पनि कहिल्यै पत्ता लगाउन सक्नेछैनन्।